काठमाडौँ — विराटनगरस्थित बराह हर्बल उद्योगकी सञ्चालक अम्बिता भण्डारी सफल महिला उद्यमी हुन् । २०७४ सालदेखि हर्बल उद्योग सञ्चालन गर्दै आएकी भण्डारीले हाल हेयर आयल, हेयर प्याक, सेम्पु, फेस सिरमलगायत ब्युटी पार्लरसँग सम्बन्धित २१ प्रकारका सामान उत्पादन गर्दै आएकी छन् । करिब २५ लाख लगानी भइसकेको उक्त उद्योगबाट राम्रो आम्दानी प्राप्त भइरहेको भण्डारीले बताइन् ।


हाल चार जनालाई रोजगारी दिइरहेकी भण्डारी नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको ‘सर्टिफिकेट कोर्स’ मा सहभागी भइन् । उद्योग सुरु गर्दा व्यवसायप्रतिको अठोट भए पनि त्यसबारे राम्रो ज्ञान थिएन । कार्यक्रममा सहभागी भएपछि आत्मविश्वाससँगै प्याकेजिङ, बजारीकरण, लेखालगायतसम्बन्धी ज्ञान पाएको उनको भनाइ छ ।
‘उद्योग कसरी सञ्चालन गर्ने भन्ने ज्ञान अभावका कारण सुरुका दिनमा व्यवसायले अपेक्षाकृत गति लिन सकेको थिएन । यसकारण ठूलो लगानी भइसक्दा पनि यसले राम्रो प्रतिफल दिएन,’ उनले अनुभव सुनाइन्, ‘यसैबीच विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सञ्चालित सर्टिफिकेट कोर्समा सहभागी हुने अवसर पाएँ । उक्त कोर्स लिएपछि व्यवसायसम्बन्धी आवश्यक ज्ञान र सीप प्राप्त मात्रै भएन व्यवसायको सञ्जाल विस्तारका लागि पनि सहयोग प्राप्त भयो ।’ अहिले उनको व्यवसायले गति मात्रै लिएको छैन, प्रतिफल पनि दिएको उनको भनाइ छ ।
‘व्यवसाय सुरु गर्दा उद्यमशीलताबारे पर्याप्त जानकारी थिएन, तर जसरी पनि केही उद्यम गरी आत्मनिर्भर बन्छु भन्ने अठोट भने थियो,’ उनले भनिन्, ‘तर रहरले मात्रै नहुने रहेछ । व्यवसाय गर्न त्यससम्बन्धी ज्ञान हुनुपर्ने रहेछ । सुरुमा सामान्य व्यवसाय गरिरहेकी थिएँ, पछि सो कार्यक्रममा जोडिन पाएपछि मेरो व्यावसायिक जीवनमा ठूलो परिवर्तन आयो ।’ सर्टिफिकेट कोर्सले उनमा व्यावसायिक सोच, सीप र कलाको विकास भएको उनको भनाइ छ । अहिले व्यवसायलाई अझ व्यवस्थित र आधुनिक ढंगले अगाडि बढाउन सकेको उनले बताइन् । ‘अहिले व्यवसाय विस्तार गर्न र चुनौतीहरूको सामना गर्न मद्दत पुगेको छ,’ उनले भनिन् ।
इलामका यमबहादुर कार्की पनि कृषि उद्यमी हुन् । नबिल एसएसईअन्तर्गतको फेलोसिप कार्यक्रममा सहभागी भएपछि व्यवसायसम्बन्धी धेरै ज्ञान र सीप सिकाएको कार्की बताउँछन् । ‘फेलोसिपमा सहभागी भएपछि मात्रै उत्पादनलाई व्यापारमा ढाल्न आवश्यक सीप सिक्ने मौका पाएँ,’ उनले भने, ‘यो कार्यक्रमले मलाई व्यवसाय कसरी गर्ने भनेर सिकायो, व्यापार गर्दा कस्ता चुनौतीहरू आउँछन् भनेर पहिल्यै पहिल्याउन सक्ने सक्षम उद्यमी बन्न सहयोग पुगेको छ ।’ कार्यक्रमले नेपालमा बसेर केही हुँदैन भन्ने मानसिकता भएकालाई काम गरे अवश्य सफल भइन्छ भन्ने पाठ सिकाएको उनले जनाए ।



कार्यक्रममा आबद्ध भएपछि मात्रै आफू किसानका रूपमा मात्रै सीमित नरहेको उनको अनुभव छ । ‘पहिले म कफी खेती र बाख्रापालनमा मात्रै सीमित थिएँ, अहिले व्यवसाय विस्तार गर्दै ५ सयभन्दा बढी किसानका उत्पादनलाई बजारीकरण गर्न सकिरहेको छु,’ उनले भने, ‘हाल उनले पूर्वी नेपालका विभिन्न स्थानमा उत्पादन हुने घिउ, कफी, मोरिङ पाउडरलगायत काठमाडौंमा बिक्री गरिरहेको छु ।’
भण्डारी र कार्की प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा उद्यमी उत्पादन गर्ने कर्ममा योगदान पुर्याउन नबिल बैंकले २०७८ सालमा एसएसई कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत ‘फेलोसिप र सर्टिफिकेसन’ गरी दुई प्रकारका कार्यक्रम सञ्चालन भइरहेका छन् । फेलोसिप कार्यक्रमअन्तर्गत हालसम्म चार ब्याच (कोहर्ट) मा गरेर ७६ जना प्रशिक्षित भइसकेका छन् । तीमध्ये ६० वटा उद्यम स्थापना भएका छन् भने करिब एक हजार पाँच सय रोजगारी सिर्जना भइसकेको बैंकको दाबी छ । पाँचौं ब्याचअन्तर्गत हाल थप २० जना छानिएका छन् ।



कार्यक्रमले सूचना प्रविधि (शिक्षा, यातायात, ई–कमर्श र स्वास्थ्य), कृषि, खाद्य प्रशोधन, हस्तकला, अतिथि सत्कार, प्रांगारिक उत्पादन, वातावरण संरक्षण, कला र संगीत तथा पर्यटनलगायत क्षेत्रका उद्यमीलार्ई परामर्श प्रदान गर्नुका साथै व्यवसाय विस्तारमा समेत सहयोग पुर्याउँदै आएको जनाइएको छ ।
आर्थिक वर्ष २०७७/७८ कोभिडका कारण आन्तरिक अर्थतन्त्र शिथिल थियो भने विश्व बजारमै आपूर्ति शृंखला प्रभावित थियो । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको थियो । यस्तो अवस्थामा अर्थतन्त्रमा आशा जगाउन र स्वदेशमै उद्यमशीलता विकास गर्न संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत यो कार्यक्रम सुरु गरिएको नबिल बैंकले जनाएको छ ।
तत्कालीन समयमा भारतमा नवीनतम सोच भएका उद्यमीलाई लक्षित गरी स्कुल फर सोसल इन्टरप्रेनरसिप इन्डियामार्फत सञ्चालित कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको थियो । यसबाट उद्यमीहरू लाभान्वित हुनुका साथै समाजमा रोजगारी सिर्जना र उद्यमशीलतामार्फत सकारात्मक सोच र आशा प्रवाह भएको थियो । नेपालमा पनि सामाजिक उद्यमलाई बढावा दिन सो बैंकका सञ्चालक निर्वाण चौधरीको पहलमा यो कार्यक्रम सुरु भएको जनाइएको छ ।
‘युवाहरूमा जोस र जाँगर थियो तर व्यवसायका लागि आवश्यक मार्गदर्शन, सीप र अनुभवको अभाव थियो, नबिल बैंकले उनीहरूको आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले यो कोर्सको सुरुवात गरेको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने, ‘यो कार्यक्रमले नव उद्यमीहरूको आवश्यकता महसुस गर्दै सामाजिक, वातावरणीय र आर्थिक चुनौतीहरूको समाधान खोज्ने उत्साही उद्यमीलाई सहयोग गर्ने लक्ष्य लिएको छ ।’
सामाजिक उद्यमीका लागि वित्तीय पहुँच सहज बनाउने, उनीहरूको पहिचान बढाउने र यसको महत्त्वलाई उजागर गर्ने सोचका साथ यो कार्यक्रम ल्याइएको ज्ञवालीले जनाए । नवीन विचार भएका र आफ्नो सम्भावना पहिचान गर्दै मार्गदर्शन खोजिरहेका व्यक्तिलाई कार्यक्रमले सहयोग पुर्याउनुका साथै स्थानीय समुदायमा सकारात्मक परिवर्तन गरिरहेका व्यक्तिलाई समर्थन गर्ने र दिगो विकासका लक्ष्य प्राप्तिमा यसले योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।
कार्यक्रमले उद्यमीका लागि आवश्यक ज्ञान, सीप, मानसिकता र स्रोतसाधन जस्ता चार आधारभूत स्तम्भमा आधारित भई काम गरिरहेको छ । कार्यक्रममा सहभागी हुन चाहनेले विभिन्न माध्यमबाट आवेदन दिन सक्छन् । तर यसका लागि केही मापदण्ड तोकिएको छ । एसएसईमा आबद्ध हुनका लागि सहभागिताका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ । कार्यक्रममा छानिइसकेपछि न्यूनतम ९० प्रतिशत उपस्थिति आवश्यक भएकाले सहभागी हुनुअगावै ६ महिनासम्म प्रत्येक महिना ३/४ दिन भौतिक रूपमा काठमाडौंमा हुने कक्षामा उपस्थित हुने प्रतिबद्धता पनि व्यक्त गर्नुपर्छ ।
फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको साझेदारीमा सञ्चालन भइरहेको छ । कार्यक्रमले सामाजिक समस्या पहिचान गरी उद्यमशीलतामार्फत सो समस्या समाधान गर्न खोजिरहेका उद्यमीहरूलाई प्लेटफर्म उपलब्ध गराएको छ ।
यो ६ महिने निःशुल्क कोर्स हो । यो कोर्समा परम्परागत कक्षाकोठाको सिकाइभन्दा भिन्न ढंगले सिकाइन्छ भने सहभागीहरू ६ महिनासम्म प्रत्येक महिना तीन दिन सिकाइका कक्षामा सहभागी हुन्छन् । सिकाइ कक्षामा विभिन्न विज्ञले उद्यमीहरूलाई आवश्यक जानकारी दिनुका साथै सहभागी एकआपसमा छलफल तथा अन्तरक्रियाका माध्यमबाट विचार आदानप्रदान पनि गर्छन् ।
६ महिनासम्म फेलोहरूले विभिन्न व्यावहारिक सत्रहरूमा भाग लिन्छन् । जसमा व्यवसाय दर्ता, कानुनी प्रक्रिया, कर प्रणाली, व्यवसाय ढाँचा विकास र रणनीतिक लक्ष्य निर्धारण, मानव संसाधन व्यवस्थापन र नेतृत्व विकास, ग्राहक पहिचान र बजार रणनीति, वित्तीय व्यवस्थापन, व्यवसाय योजना निर्माण तथा व्यावसायिक प्रस्तुतीकरणलगायतका विषय केन्द्रित हुन्छन् । फेलोहरूले स्थलगत भ्रमणसमेत गरी व्यावहारिक रूपमा अनुभव पनि प्राप्त गर्ने बैंकले जनाएको छ ।
फेलोसिप कार्यक्रमअन्तर्गत प्रत्येक सहभागीलाई अनुभवी परामर्शदातासँग (मेन्टर) आबद्ध गराउँछ । परामर्शदाताले उद्यमीका लागि मार्गदर्शक मात्र होइन, उनीहरूलाई आवश्यक सुझाव, प्रतिक्रिया दिनुका साथै व्यावसायिक सञ्जाल विस्तार गर्न मद्दत पुर्याउँछन् ।
‘सर्टिफिकेट कोर्स’ कार्यक्रम हाल सात वटै प्रदेशमा विभिन्न ११ शैक्षिक संस्थासँगको साझेदारीमा सञ्चालन भइरहेको बैंकले बताएको छ । कार्यक्रमले युवामा उद्यमशील मानसिकता विकास गर्ने र व्यवसाय थालनीका लागि आवश्यक सीपहरू उपलब्ध गराउँदै आएको छ ।
सर्टिफिकेट कोर्स तीन महिनासम्म सञ्चालन हुन्छ । उक्त पाठ्यक्रम अवधिभर सहभागीहरूले व्यवसाय योजना निर्माण गर्ने सीप, उद्यमशील सोच विकास र सामाजिक उद्यमशीलताको प्रभावकारी ढाँचाबारे सिक्ने अवसर पाउँछन् । यस कार्यक्रममा पनि विभिन्न विज्ञ तथा उद्यमीद्वारा प्रयोगात्मक रूपमा सत्र सञ्चालन हुन्छन् । हालसम्म सर्टिफिकेट कोर्स ८ सय ३३ जनाले पूरा गरिसकेका छन् भने उनीहरूले ७२ भन्दा बढी उद्यम स्थापना गरिसकेका बैंकको दाबी छ ।
विराटनगरमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, वीरगन्जमा वीरगन्ज पब्लिक कलेज, जनकपुरमा मोनास्टिक सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, काठमाडौंको सानेपास्थित क्याम्पियन कलेज, बूढानीलकण्ठमा बूढानीलकण्ठ स्कुल, पोखरामा ला ग्रान्डी इन्टरनेसनल कलेज, बुटवलमा क्षितिज इन्टरनेसनल कलेज, बर्दघाटमा दिव्यज्योति बहुमुखी क्याम्पस, कोहलपुरमा कोहलपुर मोडल कलेज, वीरेन्द्रनगरमा सुर्खेत मोडल कलेज र धनगढीमा सुदूरपश्चिमाञ्चल एकेडेमीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।