नेपाली रैथाने पेय पदार्थ ‘पिन’ को महत्व, परम्परा र सम्भावना

– बिनोद बराल (R&D Chef | Spice Pundit | Advocate of Nepali Cuisine)

“पेशागत जागिरले अनुसन्धान र विकास सेफ, तर म भुइँभाँन्छे भन्न रुचाउने।”

नेपालमै मैले देखेको एक महत्त्वपूर्ण र प्रेरणादायी कार्य हो—परम्परागत पेय पदार्थ ‘झ्याइखट्टे’ को व्यावसायिक उत्पादन सुरु हुनु। खोटाङको भुगर्भ एग्रो प्रा.लि. ले यसलाई आधुनिक प्याकेजिङसहित ब्रान्डिङ गरेर बजारमा ल्याएको समाचारले ममा एक किसिमको सन्तोष, आशा र उत्साह जगायो।

नेपालका धेरै भेगमा, खासगरी जहाँ म हुर्किएको पश्चिम नेपालमा—कोदोको रक्सी ‘पिन’ केवल पेय पदार्थ होइन, यो त घरको जडिबुटी औषधि, चाडपर्वको प्रसाद, पाहुना सत्कारको अनिवार्य अङ्ग, र सांस्कृतिक पहिचानको संवाहक हो।

पिन : खानसँगैको अनुपस्थित संवाद
म सन् १९९८ देखिनै नेपाली खानाको पहिचान र प्रवर्द्धनका लागि लेख्दै, बोल्दै, अभ्यास गर्दै आएको छु। मलाई प्रेरणा दिनेहरूमध्ये एक अग्रणी व्यक्तित्व हुनुहुन्छ—करण शाक्य, काठमाडौं गेस्ट हाउसका संस्थापक। उहाँले जुनबेला ‘पर्यटन विकासको सपना’ देख्नुभयो, म त्यही बेलादेखि उहाँलाई “नेपाल पर्यटनका पिता” मान्न थालेको हुँ।

तर करिब दुई दशकअघिको एउटा सम्झना मलाई अझै ताजै छ। म पोखरामा एक गोष्ठीमा सहभागी हुँदै थिएँ, जहाँ म एक अत्यन्तै बौद्धिक गुरुङ व्यक्तित्वसँग भेट भएँ। उहाँले मलाई भन्नुभयो—
“बिनोद बाबु, तपाईं नेपाली खानाको राम्रो वकालत गर्नुहुन्छ। तपाईंले मेचीदेखि महाकालीसम्मको कथा भन्नुहुन्छ। तर तपाईं आधा खाना संस्कृति छुटाउँदै हुनुहुन्छ।”

म छक्क परे।
“कसरी?” भनेर सोध्दा,
उहाँले भन्नुभयो—
“तपाईं सधैँ ‘खान’ को कुरा गर्नुहुन्छ। तर ‘पिन’—नेपाली पेय संस्कृतिको नाम लिनुहुन्न। खाना त अधुरो हुन्छ पिन बिना।”

त्यो वाक्यले मलाई भित्रसम्म हल्लायो। मैले अहिलेसम्म लेखेका लेख, लेखेका मेनु, डिजाइन गरेका रेस्टुरेन्ट—सबैमा खानाको प्रसङ्ग थियो, तर पिनको खासै चर्चा थिएन। मलाई महसुस भयो, वास्तवमै हामी नेपाली पेय संस्कृतिको सम्मान गर्न चुकिरहेका छौँ।

पिन : नेपाली संस्कृतिको दर्पण
‘पिन’ केवल रक्सी होइन। यो नेपालका जातजाती, भाषाभाषी र समुदायहरूको परम्परा, विश्वास, और आस्थाको एक अङ्ग हो।

झ्याइखट्टे रक्सी
खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, र ताप्लेजुङ लगायतका पहाडी जिल्लाहरूमा परम्परागत रूपमा कोदो, मकै, फापर, उवा आदिबाट घरमै बनाइने रक्सीलाई ‘झ्याइखट्टे’ भन्ने गरिन्छ। यसको नाम आफैँमा साँस्कृतिक ध्वनि बोकेको छ—झ्याइ भन्ने झ्यापजस्तै झल्याँस्स हुने प्रभाव र खट्टे अर्थात् अमिलो गन्ध र स्वाद मिलाएर बनाइएको नाम।

पिनको प्रयोग संस्कार र चाडपर्वमा
नेवारी समुदायमा ‘सागुन’ बिना कुनै शुभकार्य सुरु हुँदैन। सागुनमा ‘एला’ अनिवार्य हुन्छ—जुन स्थानीय रक्सी हो।
गुरुङ, मगर, तामाङ, शेर्पा, र थकाली जातिमा ‘जाड’ या ‘च्याङ’ पिउनु चाडपर्वको केन्द्र हुन्छ।
मधेसी समुदायमा ‘सतू’ र ‘सरबत’ बिहानको स्वास्थकर पेय हो भने, ‘भात-आलुचोखा–सरबत’ विशेष पाहुनाका लागि तयार गरिन्छ।
थारुहरूको ‘हाण्डी’ र ‘लाट्टी’ रक्सी सामाजिक तथा धार्मिक विधिको अंश हो।
कर्णाली क्षेत्रमा ‘निगार’ र दोलोखामा ‘प्लुम रक्सी’ पिउनु दैनिक बानीजस्तै छ।

परम्परागत रक्सी बनाउने विधि (रेसिपी)
नाम: पश्चिमी शैलीको झ्याइखट्टे पिन
अवधारणा: औषधीय गुणयुक्त, पाहुना स्वागतको पेय
सामग्रीहरू:

लोकल चामल – १ कप

स्थानीय घ्यू – २ चम्चा

घरमा बनाइएको रक्सी – १ गिलास

बनाउने तरिका:

कडाही तताएर घ्यू हाल्ने।

चामललाई तातो घ्युँमा हालेर मध्यम आँचमा सुनौलो गुलाबी (गोल्डेन ब्राउन) रंग आउने गरी सेक्ने।

त्यसपछि अर्ध सेकिएको चामलमा रक्सी हाल्ने।

२–३ मिनेट बाफ आउने गरी तताएर तत्कै सर्व गर्न मिल्ने।

सेवाको शैली:
काठको सानो चम्चा वा माटोको प्यालामा हालेर, पाहुनालाई बिनम्रतापूर्वक पस्कने।

गुण:
शरीर तातो बनाउने, चिसो र रुघा भगाउने, आत्मीयता बढाउने।

पिनको व्यवसायिक सम्भावना
खोटाङको भुगर्भ एग्रोले जुन पहल गरेको छ, त्यो केवल एउटा रक्सीको प्याकेजिङ मात्र होइन—त्यो नेपाली आत्मा बोकेको पिनको अन्तर्राष्ट्रिय पहिचान हो।

आज हामी बियर, जिन, रम, वोद्का—विदेशी ब्राण्डका नाम मुखाग्र गर्छौँ। तर हामीसँगै छ—एला, झ्याइखट्टे, च्याङ, जाड, तुङ्बा, मोही, सरबत जस्ता अनगिन्ती सम्पदा। यदि यीलाई वैज्ञानिक अध्ययन, गुणस्तर प्रमाणिकरण, साङ्गठनिक प्याकेजिङ र जिम्मेवार ब्रान्डिङ दिइयो भने, हाम्रा गाउँघरका भुइँभान्छाबाट विश्व बजारमा ठडिने सम्भावना छ।

पिन र आतिथ्य
हाम्रो परम्परागत आतिथ्यमा खाना मात्र होइन, पिन पनि उत्तिकै अनिवार्य हुन्छ। थारु, मगर, नेवार, लिम्बु, गुरुङ, तामाङ समुदायमा पाहुनालाई पिन नपस्किने हो भने त्यो सत्कार अधुरो मानिन्छ।
“ज्वाइँ बन्जा बेनकाली आउँदा पिन अनिवार्य हुन्छ।”

धेरै थलोमा त पिनलाई प्रसाद का रूपमा भगवानलाई अर्पण गरिन्छ। जसरी गहूँ, चामल, फूलको प्रसाद हुन्छ—त्यस्तै पिन पनि आस्था हो। अतः पिन केवल पेय होइन, यो परम्परा हो, संस्कार हो, र श्रद्धा हो।

नेपाली खानपिन पर्यटनमा ‘पिन’ को स्थान
हामी ‘नेपाली थाली’, ‘डाल भात’, ‘गुन्द्रुक’, ‘मोमो’, ‘न्युरेनी’ भन्यौँ, तर त्यससँगैको पिन भने धेरै जसो छुटाइन्छ। जबकि विदेशी पर्यटकहरू अब नेपाली खानासँगै यसको जोडी पिन पनि खोज्छन्।

भोलिको नेपालको कुलिनरी टुरिज्म मा यदि हामीले पिनको विषयलाई व्यावसायिक रूपमा विकास गर्‍यौँ भने,

घरेलु उत्पादनलाई अन्तर्राष्ट्रिय मूल्य दिइनेछ,

रैथाने ज्ञानलाई सम्मान मिल्नेछ,

रोजगार सिर्जना हुनेछ,

र हाम्रो पहिचान अझ गहिरो हुनेछ।

निष्कर्ष – ‘पिन’ हाम्रो साँचो सम्पदा
हामीले ‘पिन’ लाई केवल मद्यपानको चश्माले हेर्न बन्द गर्नुपर्छ। यो त हाम्रो अंश हो—माटोको सुगन्ध, जातको स्वाभिमान, भेषभूषाको रङ, र परम्पराको गहिराइ।

आजको पुस्तालाई चाहिएको छ—जिम्मेवार पिन संस्कृति। जहाँ परम्परा र प्रविधि सँगै हिँड्न सक्छन्। जहाँ ‘झ्याइखट्टे’ जस्ता पेयले बजार मात्र होइन, मन जित्न सक्छन्।

अन्त्यमा, म भन्न चाहन्छु—हामी नेपालीले अब खान मात्र होइन, पिन पनि सम्झनुपर्छ। खान र पिन मिलाएर नै हाम्रो साँचो नेपाली स्वाद तयार हुन्छ।

(नेपाली खानपिनको ग्लोबल एम्बासडरको उपमा दिन सकिने बिनोद बरालले यो प्रेरणादायी स्टार्टअपको कथा राम्रो सञ्चार अनलाइन पोर्टलमा प्रकाशन गर्ने अनुमती दिनुभएको आभार प्रकट गर्दछौं-सम्पादक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *