राम्रो समाचार लिखा जत्रो, गल्ती भए कत्रो ?

Source of News : https://annapurnapost.com/story/53731/

साउन ३२, २०७३ मंगलबार १२:२५:०

काठमाडौँः सञ्चारमन्त्री राम कार्कीले राम्रो काम गरेको समाचार सानो छाप्ने र नकारात्मक खबर ठूलो छाप्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार बिहान नेपाल पत्रकार महासंघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले आफ्नै पुरानो अनुभव साट्दै राम्रो समाचार लिखा जात्रो आउने टिप्पणी गरे । धनकुटामा वृद्धावृद्धालाई एक हजार नगद र फलफूल वितरण कार्यक्रमको समाचार सम्झदै मन्त्री कार्कीले भने, ‘वृद्धावृद्धालाई एक हजार नगद र फलफूल वितरण गरेको समाचार लिखा जत्रो आयो । यदि त्यहाँ हामीले कुनै गल्ती गरेको भए कत्रो आउथ्यो ?’

कार्कीले सकारात्मक र समाजलाई अभिप्रेरित गर्ने समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । कार्कीले समाजमा सबै खराब काम मात्र नभएको बताउदै भने, ‘मिडियाले गर्ने आलोचना तथ्यमा आधारित हुनुपर्छ ।’

नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका कार्कीले पत्रकार कुनै विचार र आस्थाबाट प्रभावित हुनु नहुने समेत बताए ।
‘पत्रकारिता मर्यादित पेसा हो, गम्भीर हुनुपर्छ । यो पेशा कुनै विचार र आस्थाबाट प्रभावित भएर गर्नु हुँदैन, ‘मन्त्री कार्कीले भने,  ‘दूरजराजमा बसेर सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई सबैले प्रोत्साहन गर्नुपर्छ ।’

कार्यक्रममा  पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको सक्रियतामा ज्येष्ठ पत्रकारलाई मासिक  एक हजार रुपैयाँ प्रदान गर्ने, पत्रकार परिवारलाई शैक्षिक सन्तति वृत्ति, स्वास्थ्य बिमालगायत महत्वपूर्ण कार्यक्रम अघि बढेको उल्लेख  गरे । विष्टले सरकारले जारी गरेको आमसञ्चार नीति र सूचनाको हक कार्यान्वयन गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *