नेपालमा सडक सुरुङमार्गका रूपमा पहिलो सुरुङ मकवानपुरमा रहेको चुरियामाई सुरुङमार्गलाई लिइन्छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर्स इन्कर्पोरेटेड (पीपीआई) ले संयक्त रूपमा गरेको विदेशी लगानीका पूर्वाधार आयोजना सम्बन्धी खोज अध्ययन पुस्तकमा उल्लेख भएअनुसार चुरियामाई सुरुङमार्ग निर्माण सन् १९१७ मा चन्द्र शमशेरले बनाएका हुन् । त्यसपछि सडकमा सुरुङ प्रयोग ठप्प भयो ।
माथिल्लो तामाकोसी आयोजनाले बनाएको ३ सय ३७ मिटर लामो सुरुङमा पनि यातायात चल्छन् । तर, नागढुंगा भने व्यस्त राजमार्गमा बनेको पहिलो र सबैभन्दा लामो सुरुङ मार्ग हो । संख्यात्मक हिसाबले नागढुंगा टनेल नेपालको चौथो सुरुङमार्ग हो ।
आधुनिक नेपालमा सबैभन्दा धेरै सुरुङ विकास जलविद्युत् आयोजनामा भयो । उक्त खोज प्रतिवेदन अनुसार जलविद्युत्, सिँचाइ, खानेपानी र सडक आयोजनामा गरी अहिले करिब २ सय ८० किलोमिटर सुरुङ बनिसकेको छ ।
नेपालमा बहुचर्चित दुई सुरुङमार्ग आयोजना नागढुंगा र सिद्धबाबा हुन् । जसको काम नै सुरु भइसकेको छ । ग्वार्को–सातदोबाटो फ्लाइओभर पनि काम सुरु भइसकेको छ । यी आयोजनासँगै दुई दर्जन सुरुङ आयोजना पाइपलाइनमा छन् ।
यी सुरुङ काठमाडौं–तराई–मधेश द्रुतमार्गमा बनिरहेका सुरुङभन्दा अलग हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिद्धबाबा सुरुङमार्ग निर्माणले गति लिइसकेको छ ।
यसबाहेक धरान लेउती सुरुङमार्ग, दुम्कीबास–बर्दघाट, हेम्जा–नयाँपुल, मझिमटार–शक्तिखोर, नयाँबानेश्वर अन्डरपास, प्रवास–जोर्ते (पाल्पा), बबई–छिन्चु, ताथली–रविओपी, बीपीनगर–खुटिया, गोदावरी–मानचौर सुरुङमार्ग अहिले अध्ययन चरणमा छन् ।